मैवाखोला गाउँपालिका (वडा न. ०६) प्रदेश नं. १, नेपाल
समाजिक सञ्जालकाे लिंक:

मैवाखोला गाउँपालिका वडा नं.-६ को संक्षिप्त परिचय :
मैवाखोला गा.पा वडा नं.-६ साबिक फाकुम्बा गा.वि.स. वडा नं. ५,६,७,८ र ९ मिलेर बनेको छ । मैवाखोला गाउँपालिका वडा नं. ६ पूर्व र उत्तर मिरिङदेन-१ को साविक थिङलाबु गा.वि.स., पूर्व, दक्षिण मैवाखोला-५ र ४ का केही भागसँग जोडिएको छ भने पश्चिममा सङ्खुवासभा जिल्लाको चैनपुर न.पा. वडा नं - २,३ र ४ सँग जोडीएको छ ।  यस वडाको प्रमुख स्रोत कृषि नै  हो । यहाँ मकै, जौ, गहुँ, धान, आलु उत्पादन हुने गरेको छ ।  नगदेबालीको रुपमा अलैँची प्रमुख रहेको छ भने पशुपालनको पनि प्रचुर सम्भावना रहेको छ । यस वडामा रानीवन टोल बिकास संस्था, साम्तोङ टोल बिकास संस्था, फुन्चिङदेन खुरिक्ला टोल विकास संस्था, माङलक्सु टोल विकास संस्था र हाङफाबुङ टोल बिकास संस्था गरी जम्मा ५ वटा टोल बिकास संस्थाहरु रहेका छन् । यस वडामा मुख्य गरी लिम्बु, शेर्पा, तामाङ, गुरुङ, क्षेत्री र केही दलितहरु बसोबास गर्दछन् । विभिन्न जात जातिहरूको मिश्रित बसोबास रहेको यो वडामा परापूर्वकाल देखि नै सामाजिक सद्भाव,सामाजिक एकता र भातृत्व कायम रहेको छ ।  यस वडाले गाँउपालिकाको कुल क्षेत्रफलको करिव ५९ वर्ग कि.मि ओगटेको छ । जम्मा ३३९ घरधुरी रहेको  यस वडामा जम्मा महिला ७७८ र  पुरुष ९०५ गरी  जम्मा १६८३ जनसंख्या रहेको छ। यस वडामा लोकतान्त्रिक सुर्योदय आ.वि., रानीवन आ.वि., असाङलुङ आ.वि.,महावीर आ.वि.र महेन्द्र मा.वि गरी जम्मा ५ वटा शैक्षिक संस्थाहरू छन् । यस वडामा १ मात्र टासीदिङ बौद्ध गुम्बा रहेको छ । साङलुपा स्वास्थ्य चौकी र साम्तोङ सामुदायिक स्वास्थ्य इकाइ गरी जम्मा २ वटा स्वास्थ्य संस्थाहरू रहके छन् भने खोप केन्द्र-१ गाउँघर क्लिनिक-२ स्थानमा सञ्चालनमा छ्न् । यस वडाको पर्यटकीय क्षेत्रहरूको चर्चा गर्नुपर्दा  मुन्धुमी र सांस्कृतिक महत्व बोकेको  वसाडलुङले अथाह सम्भावना बोकेको छ तर यसको उचित प्रचाप्रसार हुन सकिरहेको छैन । त्यसैगरी जोरढुङ्गा, जलजले र गोरुजुरे जस्ता ठाउँहरूमा लालीगुराँस प्रसस्त पाइन्छ । यस वडामा भुत्ते पोखरी, जोरपोखरी, लामपोखरी, कालपोखरी, पोथीपोखरी छ्न् । सिन्थोलुङ र फुम्फाङ झरना यहाँको मुख्य प्राकृतिक झरना हुन् । मैवाखोला, नेङ्वाखोला जस्ता विभिन्न खोलाहरू रहेको यो वडाबाट बिजुली उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ । १८ मेगावाटको अपर मैवाखोलाबाट उत्पादन गरिने विद्युत आयोजना पनि यहीँ वडामा पर्दछ । सडक सञ्जालको कुरा गर्नुपर्दा  साम्तोङ टोल वस्ती बाहेक अन्य सबै टोलहरुमा कच्ची सडक पुगेको छ । विद्युतको पहुँच सबै वडामा पुर्याउने कार्य करिब अन्तिम अवस्थामा पुगेको छ । फाकुम्बा अस्थाई प्रहरी चौकी वडा नं. ५ मार्फत शान्तिसुरक्षा प्रदान भईरहेको छ। आर्थिक सम्भावनाको दृष्टिले यो वडा निकै धनी वडाको रूपमा लिन सकिन्छ तर विकास पूर्वाधार र शिक्षाको हिसाबले यसले निकै मिहेनत गर्नुपर्ने देखिन्छ ।