मैवाखोला गाउँपालिका वडा नं. ५ को संक्षिप्त परिचय
नेपालको सुदुर पूर्वी जिल्ला ताप्लेजुङको दक्षीण पश्चिममा अवस्थित मैवाखोला गाँउपालिका वडा नं ५ को पूर्वमा मेरिङदेन गाँउपालिका वडा नंबर १ को केही भाग र मैवाखोला गाँउपालिका वडा नंबर २ को केही भाग ओगटेको छ पश्चिममा संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका वडा नं ५ र चैनपुर नगरपालिका वडा नंबर ४ रहेको छ । उत्तरमा मैवाखोला गाँउपालिका वडा नं ६ रहेको छ ।त्यसैगरी दक्षिणमा मैवाखोला गाँउपालिका वडा नं ३ र ४ मा रहेको छ । साबिक फाकुम्बा गा.वि.स. वडा नं १,२,३,४ समायोजन भई मैवाखोला गाउँपालिका वडा नंबर ५ नामाकरण भएको हो ।
यस वडा नंबर ५ को क्षेत्रफल ८.७ वर्ग किलोमिटर रहेको छ । घरधुरी संख्या ३४० रहेको छ भने यहाँको जनसंख्या १६५१ रहेको छ, जसमा पुरुष ८९६ र महिला ७५५ जना रहेको छ । यस वडाको भुभाग उत्तर बाट दक्षिणतिर ढल्केको छ ।अधिकांस भू-भागको भिरालोपना ३० डिग्री भन्दा बढी रहेको छ ।अवस्थितिको आधारमा समशितोष्ण मौसममा मौसमी हावापानी पाइन्छ । यस वडाको हावापानी बैसाख महिनामा प्राय सुख्खा भएता पनि ज्येष्ठको उत्तरार्ध देखी अषाढ,श्रावण र भाद्र महिनाभरी गृष्मकालिन मनसुनी वायुको प्रभाहहरु सुरु हुने भएकोले जलवायुमा सापेक्षित आद्रताको अधिक हुने भएकोले वर्षा पनि बढी हुने गर्छ । दक्षिण क्षेत्रमा सदावहार विशेषताका सखुवा, ढाल्ने, सिमल, बाँस, मौवा, वर, पिपल आदी जातका वनस्पति र आँप, कटहर, सुन्तला, केरा, अम्बा, बडहर, लप्सी, जातका फलफुल पाउनुका साथै मयुर, कालिज, लामपुछ्रे, न्याउली आदी पंक्षीहरु तथा सालक, दुम्सी, स्याल आदी जातका जंगली जन्तु पाइन्छन् ।माथिल्लो दक्षिण र उत्तर क्षेत्रमा पैयुँ, उत्तिस, खराने, ठुलो कटुस, लालिगुँरास, चाँप ढ्याङ्ग्रे सल्ला, फलाँट आदी बनस्पति पाइन्छ भने कालिज, भ्याकुरा, लुइचे, मुनाल जस्ता पंछीहरु पाइन्छन् । यस वडामा विभिन्न जातजातिहरुको बशोबास रहेको छ । यहाँ शेर्पा, लिम्बु, बाहुन, क्षेत्री, कामी राई आदी जातिहरुको बसोबास रहेको छ । लिम्बु, शेर्पा ,राई यहाँको प्रमुख जनजातिहरु हुन् । यहाँका प्रमुख जनजातिहरुले जातिगत भाषा बोल्दछन् । यहाँका मुख्य धर्मालम्बिहरु बौद्ध, किराँत,हिन्दु छ्न् । यहाँका मानिसहरु आफ्नै जातजाति अनुसारको पहिरनमा सजिन्छन् भने जातजातिअनुसारकै नाचहरु नाच्ने गर्दछन् । जस्तै: स्याब्रु नाच, डम्फु नाच, च्याब्रुङ नाच , धान नाच, पालाम आदि ।
यस वडामा फाखोङदेन टोल विकास संस्था,देवलढुङ्गा टोल विकास संस्था,नुम्लोक टोल विकास संस्था, काम्साङ टोल विकास संस्था र महादेव टोल विकास संस्था गरी ५ वटा टोल विकास संस्थाहरू रहेका छ्न्। टोल विकास संस्थाहरु यहाँका उपभोक्ताहरूबाट चुनिने गरिन्छ ।यी संस्थाहरूले गाँउपालिकाबाट विनियोजित बजेटको योजनाहरु कार्यान्वयन गर्ने गर्दछन् ।
यस वडामा ५ वटा शैक्षिक संस्थाहरू रहेका रहेका छन् जस्मा श्री पाटी माध्यमिक विद्यालय, हिमालय आधारभुत विद्यालय,जनपृय आधारभुत विद्यालय, महादेव आधारभुत विद्यालय र शाहजित आधारभूत विद्यालय छन् ।
यस वडामा एक वटा वडा कार्यालय, एक वटा स्वास्थ्य चौकी रहेको छ । खोप केन्द्रहरु तीन वटा र गाँउघर क्लिनिक तीन वटा रहेका छन् । मुख्य पर्यटकीय प्राकृतिक स्थलको रुपमा फाखोङदेन पोखरी, देवलढुङ्गा, महादेवथान, रमिते फेदी , गोरुजुरे, ङाङ्युर सोनाम छ्योलिङ गुम्बा, टाँसिछ्योलिङ बौद्ध गुम्बा, माङ्हिम गुम्बा रहेको छ भने सडक यातायात सबै टोल टोलमा कच्ची सडक पुगेको छ । सुरक्षा इकाईको रुपमा अस्थायी प्रहरी चौकी फाकुम्बा रहेको छ ।यस वडामा फाकुम्बा भेटनरी र अतिरिक्त हुलाक कार्यालय पनि रहेको छ । वडामा वन जङ्गलको संरक्षण गर्नका लागि भितेफेदी सामुदायिक वन,गोरुजुरे सामुदायिक वन, सिन्धोलुङ सामुदायिक वन, सुमेलुङ सामुदायिक वन ,जगेडा रानी सामुदायिक वन र जौबारी सामुदायिक वन उपभोक्ता समुहहरु छ्न् । त्यसैगरी सामुदायिक विकास,खेलकुदको विकासका लागि युवा क्लवहरु छ्न् । महिला सशक्तिकरणका लागि महिला समुहरुपनी छ्न् । कृषकहरुको मुख्य नगदेबालीको रुपमा अलैँची र सुन्तला हो । कृषिमा धान, कोदो मकै, गहुँ आदि रहेको छ । यसैगरी पशुपालनमा गाई, गोरु, भैँसी, कुखुरा, बाख्रा, खरायो, हाँस, सुँगुर आदि पाल्ने गरेको पाइन्छ ।मैवाखोलाबाट उत्पादन हुने १८ मेगावाटको जलविद्युत आयोजनाको पावर हाउस पनि यही वडामा पर्दछ ।