मैवाखोला गाउँपालिका (वडा नं. ०३) प्रदेश नं. १, नेपाल
समाजिक सञ्जालकाे लिंक:

मैवाखोला गाउँपालिका वडा नं ३ को संक्षिप्त परिचयः
नेपालको पूर्वी जिल्ला ताप्लेजुङको पश्चिमी भेगमा पर्ने साविकको ढुङ्गेसाँघु, साँघु र फाकुम्बा गा.वि.स मिति २०७३/११/२७ मा एकीकृत भई हाल परिवर्तित मैवाखोला गाउँपालिकाको वडा नं ३ साविकको साँघु गा.वि.स वडा नं १ देखि ६ सम्मको क्षेत्र समेटिएर बनेको छ । यस वडाको केन्द्रको रुपमा साँघुपाटी बजार पर्दछ । यहाँ मैवाखोला गाउँपालिकाको कार्यालय र वडा कार्यालय अवस्थित रहेको छ । यस वडाको पूर्वपट्टीको सिमानासँग यस गाउँपालिकाको वडा नं २ (साविक ढुङ्गेसाँघु), पश्चिमपट्टी वडा नं. ४, उत्तरपट्टी वडा नं ५ , तथा दक्षिणमा मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम र चैनपुर नगरपालिका,संखुवासभाको भु-भाग पर्दछ । यस वडाको क्षेत्रफल १४.७० वर्ग कि.मी रहेको छ । यस वडामा घरधुरी संख्या ३५० तथा जनसंख्या १२६२ मध्ये पुरुषको संख्या ६४८ र महिलाको संख्या ६१४ रहेको छ । यस वडामा जम्मा ५ वटा टोल विकास संस्थाहरुमा तुम्वे टोल विकास संस्था, माङ्हिम टोल विकास संस्था, साँघुपाटी कोलडाँडा टोल विकास संस्था, बुङधाक टोल विकास संस्था र ताङसादेन टोल विकास संस्था छन् । यस वडामा माध्यमिक तहका विद्यालय-१, आधारभुत तहका विद्यालय-२ र एउटा निजी विद्यालय गरी जम्मा ४ वटा शैक्षिक संस्थाहरू रहेका छन् । यस वडामा सामुदायिक स्वास्थ्य संस्था-१, खोपकेन्द्र र गाउँघर क्लिनिक-१/१ र जलजले क्लब, बुङ्धाक स्पोर्टिङ क्लव, सनराज क्लव र युनाइटेट क्लव गरी ४ वटा क्लबहरू रहेका छन्। यस वडामा २ वटा महिला समुह रहेका छन्‌ । यस वडामा सबै जसो कच्ची सडक भएतापनि सडकहरु सधै जसो सञ्चालनमा रहने तथा यस वडा नं ३ बाट धरान, सुनसरी, फाकुम्बा र ताप्लेजुङ जिल्लाको सदरमुकाम जाने केन्द्रबिन्दुको रुपमा रहेको छ।
यस वडा रमा विषेशत: लिम्बु, राई, तामाङ, शेर्पा, बाह्रमण, क्षेत्री र दलित जातजातिहरुको बसोबास रहेको पाईन्छ जसको आ-आफ्नै मौलिक संस्कृति, भेष भुषा तथा परम्पराहरु छ्न् । धान नाच, च्याब्रुङ नाच, साकेला नाच, डम्फुको नाच, स्याब्रु नाच आदि प्रख्यात नाँचहरु छन् । यस वडा भित्र रहेको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरु सायम्बा धर्मशाल पाटी, हाङयुङ्वा गुफा, माङ्ममाया छाङ्गाटार, उर्गेन छ्योलिङ गुम्बा, शिव पार्वती मन्दिर, किरातेश्वर मन्दिर, शिव मन्दिर, युमा माङ्हिम, रमिते ढुङ्गा, भ्यू टावर आदि छ्न् । गिराहरुको पकेट क्षेत्र मिल्के, मेन्छ्यायेम क्षेत्र र रमिते क्षेत्र यसै वडा भित्र पर्दछ । यस वडामा रहेको माङ्माया गम्फे सामुदायिक वन,जुन स्याङ्स्याङ्गे (भाले चिराइतो), लोक्ता अल्लोका लागि प्रख्यात छ । उक्त अल्लोबाट यहाँका मानिसहरुले विभिन्न डिजाईनका कपडा तयार गरी आर्थिक उपार्जन गर्ने गरेको पाईन्छ साथै कालो सुनले प्रख्यात रहेको ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको यस वडामा पनि अलैँचीको खेती गरिन्छ। रसायनिक मलको प्रयोगलाई निषेध गर्नका लागि गाउँपालिकाले  जैविक मल उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार बनाइरहेको छ । कर्म गर्नमा रुचि राख्ने यस वडाका कर्मशील मानिसहरु आर्थिक आयआर्जनका निम्ति धान,मकै,कोदो,फापर,आलु खेती गर्दछन् ।  सुन्तला, अलैँची, किवी, कफी, कागती लगाउने, पशुपालन जस्ता नगदे बालीले स्थानिय अर्थतन्त्रमा राम्रो टेवा पुर्याइरहेको अवस्था छ ।