मैवाखोला गाउँपालिका वडा नं १ को संक्षिप्त परिचय
नेपालमा संघीयता लागु भए सँगै नेपाललाई संघ, प्रदेश र स्थानीय तह गरी ३ तहमा विभाजन गरियो । कोशी प्रदेशमा रहेको १३७ स्थानीय तहहरु रहेका छन । ताप्लेजुङ जिल्लामा रहेको ८ वटा गाँउपालिका मध्ये मैवाखोला गाँउपालिका एक आफ्नो छुट्टै ऐतिहासिक पहिचान बोकेको गाँउपालिका हो । यस गाँउपालिकामा जम्मा ६ वटा वडा कार्यालयहरु रहेका छन् । जस मध्ये १ नं वडा ढुंङ्गेसाँघुमा पर्दछ ।
साविक ढुङ्गेसाँघु गा.वि.स.वडा नं.१ देखि ५ वटा वडालाई समायोजन गरी हाल मैवाखोला गाँउपालिका वडा नं १ बनाईएको छ । यो वडा प्राकृतिक सौन्दर्य, जातिगत विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यस वडाको पूर्वमा आठराइ त्रिवेणी गाउँपालिका पर्छ भने पश्चिमामा खेसिवा खोला, उत्तरमा मैवाखोला, दक्षिणमा क्यारक्यारे डाँडा पर्दछ । यस वडाले गाँउपालिकाको कुल क्षेत्रफलको करिव ११ वर्ग कि.मि ओगटेको छ । कुल जनसंख्या १७२२ मा पुरुषको संख्या ८९६ र महिलाको संख्या ८२६ रहेको छ भने घरधुरी संख्या ३९७ रहेको छ ।
यस वडामा रहेका वस्तीहरु कुवापानी, खानीटोल, खोलाखेत, गैरीगाउँ, फटेङ्ग्रे, चित्रे, डाँडागाउँ, ढुङ्गेसाँघु, तेल्लाबुङ, पाठकडाँडा, माछापोखरी, माझगाउँ, मेहेल्टार, साक्फारा, सिम्ले, सुन्तले, सुरबिरे आदि टोलहरु रहेका छन् । सम्पूर्ण टोलहरुमा कच्ची सडकको सुविधा पुगेको छ । यस वडामा मुख्य गरी लिम्बु, शेर्पा, तामाङ, विश्वकर्मा, मगर, नेवार, दर्जी, ब्राहमण, क्षेत्री लगायतका जातिहरुको वसोबास रहेको छ । यहाँ विशेष गरी किराँत, हिन्दु, बौद्ध र ईसाइ धर्म मान्ने मानिसहरू रहेका छन् । यिनीहरुको आफ्नै रितिरिवाज, चालचलन, भेषभुषा र धर्म संस्कृति रहेको छ । एक जातिले अर्को जातिको धर्म, संस्कृतिलाई सहजै स्वीकार गर्ने सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम छ । यस क्षेत्रको मुख्य पेशा कृषि तथा पशुपालन, साना व्यापार र वैदेशिक रोजगारी रहेको छ । आयस्तर भने मध्यम तथा निम्न मध्यम स्तरको रहेको छ । यस वडामा श्री जनकल्याण मा.वि तेल्लाबुङ, मदन भण्डारी स्मृति आ.वि., श्री पाटी आ.वि.फटेङ्ग्रे, श्री साग्फारा आ.वि., श्री सिंह आ.वि.मेहेल्टार र सरस्वति आ.वि.चित्रे गरी जम्मा ५ वटा शैक्षिक संस्था रहेका छन् भने तेल्लाबुङ स्वास्थ्य चौकी रहेको छ । यहाँ चित्रे गाँउघर क्लिनिक पनि रहेको छ जसले गर्दा स्वास्थ्य क्षेत्रमा पनि सर्वसाधरणको पहुँच सहज रुपमा पुगेको छ । यस वडाको बजार क्षेत्र तेल्लाबुङ हो जहाँबाट मानिसका सामान्य दैनिक आवश्यक सामाग्रीहरु किनमेल हुने गर्दछ । शान्ति, सुरक्षाका लागि तेल्लाबुङमा शसस्त्र वेश क्याम्प रहेको छ । यस वडाको पर्यटकीय क्षेत्र बोझेपोखरी, माछा पोखरी र सिंहदेवी मन्दिर आदि रहेको छ । यहाँ तेल्लाबुङ टोल विकास संस्था, सावायेहाङ टोल विकास संस्था, सेक्मुरी टोल विकास संस्था, सिन्धोलुङ् टोल विकास संस्था र
बोझे पोखरी टोल विकास संस्था गरी जम्मा ५ वटा टोल विकास संस्था छन्। जनसेवा आदर्श स्पोर्टिङ क्ल्व, लिवर्टी युवा क्ल्ब, लुङ्तरङ युवा क्लव र गोधुलि युवा क्ल्ब गरी जम्मा ४ वटा क्लबहरू रहेका छन् । त्यसै गरी माछापोखरी महिला सहकारी संस्था सञ्चालनमा छ । सामुदायिक भवन ढुङ्गेसाँघु, महिला विकास भवन आदि सार्वजनिक भवनहरू छन् ।
अतः मैवाखोला गाँउपालिका वडा नं १ सामाजिक, सांस्कृतिक, आर्थिक तथा प्राकृतिक हिसाबले समृद्ध वडा हो । यहाँको आर्थिक, शैक्षिक तथा पूर्वाधार विकास क्रमिक रूपले अघि बढिरहेको छ । आगामी दिनमा थप योजनाबद्ध विकास मार्फत यस वडालाई अझ समृद्ध बनाउने लक्ष्य लिइएको छ ।